मोरङको उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति मृत्यु भएको जलन विभागका प्रमुख डा. किरण नकर्मीले जानकारी दिए।
आगलागीमा परेर गम्भीर घाइते भएका मरिताको आइसियूमा उपचार भइरहेको थियो। यसअघि आइसियूमा उपचाररत चार जनाको मृत्यु भइसकेको छ।
यसअघि उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डित, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ र सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको थियो।
कार्तिक २६ गते लक्ष्मी पुजाको दिन उर्लाबारीका दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट आगलागी भएको थियो।
आगो निभाउन गएको समयमा ग्याँस सिलिण्डर विस्फोट भएपछि ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए।