काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले १०औं नगर स्थापना दिवस मनाएको छ। नगरपालिको शनिबार विभिन्न कार्यक्रम गरी नगर स्थापना दिवस मनाएको हो।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाले सबैभन्दा बढी कर तिर्ने र उत्कृष्ट जीपीए ल्याएर एसईई परीक्षा उतिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ।
जसमा सम्मानित हुनेहरुमा पुष्पलाल मेमेरियल विद्यालयका चार, काठमाडौं विद्यालयका एक, रिलायन्स विद्यालयका एक र बालउद्धार माविका छ विद्यार्थी रहेका छन्।
यस्तै सबैभन्दा बढी कर बुझाउनेहरुलाई नगरस्तरीय र वडा स्तरीयका संस्था, महिला तथा पुरुष गरी विभिन्न ३ विधामा सम्मान गरिएको छ।
नगरपालिका भरिकै उत्कृष्ठ कर तिर्ने संस्था तर्फ वडा नम्बर– ९ मा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्यम्स)लाई सम्मान गरिएको छ भने महिलातर्फ वडा नम्बर– ११ की डोल्मा याकी तथा पुरुषतर्फ वडा नम्बर–९ का विजय सम्वाहाम्फे सम्मानित भएका छन्।
वडागत रुपमा उत्कृष्ठ कर तिर्ने हरेक वडाका एक संस्था, १ महिला र १ पुरुषलाई सम्मान गरिएको छ।
नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्थे नागरिकले सबैभन्दा नजिकबाट नियाल्न पाउने सरकार स्थानीय सरकार भएकाले नागरिकको काम र मेहेनतलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको नगरपालिकाका उप–प्रमुख अनिता लामाले बताइन्।
कार्यक्रममा नगरपालिकाका कर्मचारी लगायत नगरप्रहरीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।