दोलखामा भरुवा बन्दुकको छर्राले लागेर एक युवककाे मृत्यु भएकाे छ।
गएराति शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको बन्दुकको छर्राले लागेर मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार मिजार आफैँले बोकेको बन्दुक पड्किँदा उनको देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका थिए।
उनलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेको हाे।
उनकाे मृत्यु भएपछि सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की रहेका छन्।
पक्राउ परेकाे उनीहरूमाथि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।