नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताएका छन्।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिए।
उनले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन आग्रह गरे।
‘दैलेख पुरातात्विक महत्त्व भएको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले भने, ‘यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढ्नुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं।’
उनले अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका खेल्ने बताए।
खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताए।
उनले भने, ‘उत्खनन टोलीको प्रतिवेदन अनुसार पहिलो तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म पेट्रोलियम पदार्थको सम्भावना देखिएको छ। चार हजार पाँच सय मिटरसम्म पनि यसको सम्भावना निकै राम्रो देखिन्छ।’
दैलेखको भूभागमा पेट्रोल र ग्यासको भण्डारणको सम्भावनाको अध्ययनका लागि विसं २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो।