एनसेलको सेयर बिक्रीका विषयमा सरकारलाई जानकारी छैनः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन्। चितवन पुगेका डा. महतले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामी सूचना लिइरहेका छौँ। यसको नियमन गर्ने निकाय टेलिकम हो। यो ठूलो किनबेच  गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’ 

आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।

यस्तै डा. महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए। ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ। समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ। अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ,’ उनले भने, ‘समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्। अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने छ।’ 

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए। 

भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा  जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको र त्यसको प्रतिफल आउन ढिला भइको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-12-05 10:11:00

प्रतिकृया दिनुहोस्