चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै

१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो।

कोभिड महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि गर्न लागिएको मेला संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिएका छन्। कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसायलाई अझैमाथि उठाउन महोत्सव आयोजना गरिएको आज आयोजना गरिएको पत्रकार सम्मेलन गरी पाण्डेले बताएका छन्। 

हात्ती बिना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने बताउँदै उनले पर्या–पर्यटनसम्बन्धी गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गरी राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव फलदायी हुने उनले बताए। 

महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रबद्र्धन गरिने आयोजकले जनाएको छ।  

महोत्सवमा अग्रज, उत्कृष्ठ पथप्रदर्शक, सुरक्षाकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक लगायतलाई सम्मान गरिनेछ। सन् २०१८ पछि हात्ती महोत्सव अहिले हुन लागेको हो। महोत्सवको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्न लागिएको हो। महोत्सवमा ५० वटा बिक्रीकक्ष रहने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए। उनका अनुसार पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यसवर्ष त्यस्ता गतिविधि नगरिने भएको छ।

यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएकोमा यसपटक मैनाहा चौरमा हुने उनले बताए।

प्रकाशित मिति: : 2023-12-15 17:56:00

प्रतिकृया दिनुहोस्