‘फ्रि बिजुली र फ्रि पानी’ कार्यक्रमअन्तर्गत् मौलापुरकी मेयर साहले बुझाइन् २ करोड ६६ लाखको चेक

रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि बिजुली र फ्रि पानी’ कार्यक्रमअन्तर्गत आज नगरवासीको घरेलु तथा कृषि सिँचाइ मिटरको सम्पूर्ण शुल्क बुझाएको छ।

मौलापुर नगरपालिकाकी मेयर रीना साहले यो आर्थिक वर्षको हालसम्मको २ करोड ६६ लाखको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई बुझाएकी हुन्।

मेयर रीना साह, उपमेयर नागेन्द्र यादव, वडा अध्यक्ष लगायतका सहभागितामा सो रकमको चेक बुझाएकी हुन्। मेयर साहको पहलमा भएको यस्तो कामले नगरबासी खुसी हुनुका साथै उनको अहिले चौतर्फी चर्चा गरिरहेका छन्।

स्थानीय ठागा दासले मेयर रीना साहको यस लोकप्रिय एवम् जनपक्षीय काम सबैका लागि राम्रो भएको बताए। ‘मेयर रीना साहज्यूको पहलमा पहलमा झण्डै चार वर्षदेखि सुरू भएको यो कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवम् उत्साह प्रदान गरेको छ’, दासले भने।

मेयर साहको कामले नगरबासी खुसी रहेका छन्। फ्रि बिजुली, फ्रि पानी मात्रै नभई मौलापुरको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासका कामले छिमेकी पालिकाका साथै मधेसभरि मेयर साहको अहिले चर्चा भइरहेको छ।

‘यस लोकप्रिय एवम् जनपक्षीय कामहरुको जति बखान गरे पनि सायद कम नै हुन्छ होला! एकपछि अर्को सराहनीय कामहरू गरेर आम जनताको मनमुटुमा बस्न सफल मौलापुरको नेतृत्व एवम् नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु। साथै यस्तै राम्रो काम अझै भइराखोस् भन्ने हाम्रो चाहना आउने दिनमा पनि मेयर साहेवले पूरा गर्दै जानुहुन्छ भन्ने हामीलाई विश्वास छ’, खुसी हुँदै दासले भने।

प्रकाशित मिति: : 2023-12-20 22:04:00

प्रतिकृया दिनुहोस्