क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा बुधबारका लागि न्यायाधीश शिशिरराज ढकालकै इजलासमा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
सोमबार र मङ्गलबार अदालतमा पनि सार्वजनिक बिदा भएकाले बुधबार निरन्तर सुनुवाई हुन लागेको हो।
न्यायाधीश ढकालले विहीबार मात्र एक १४ वर्षीय नावालिग करणी मुद्दामा अभियुक्तको इन्कारी वयानकै आधारमा तीन लाख धरौटीमा छोड्ने फैसला गरेर आश्चर्यचकित पारेका थिए। उनले पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत आदेश दिएका थिए।
उनै न्यायाधीशले हेर्दाहेर्दैमा निरन्तर सुनुवाई हुने निर्णय गरेपछि यो मुद्दाको फैसला पनि बिहीबारजस्तै आश्चर्यचकित पार्ने खालको त हुने हैन भन्ने आशंका बढेको छ।
सर्वाेच्च अदालतले प्राथमिकतामा राखेर निर्णय गर्नु भनेर आदेश गरेको यो मुद्दा एक वर्षभन्दा बढीदेखि अल्झाइराखिएको छ। अहिलेसम्म मुद्दा सन्दीपले करणी गरेकी वालिकाको नावालिग नरहेको भन्ने प्रमाणित गर्नमै उनका वकीलहरू लागेका छन्।
यो सरकारवादी मुद्दाको विपक्षमा शम्भु थापा, रमणकुमार श्रेष्ठ, सरोजकृष्ण घिमिरे, कृष्ण सापकोटा, सबिता भण्डारी, रोशनी पौडेल र मुरारी सापकोटाजस्ता मोटो रकम र बेञ्च सपिङका लाग नाम कहलिएका वकिलहरू हस गर्दैछन्।