मुगुमा जातीय विभेद खेपेकी स्वास्थ्यकर्मीले दर्ता गरिन् यौन दुर्व्यवहारको मुद्दा

मुगुको सोरु गाउँपालिका खनायामा जातीय विभेद खेपेकी स्वास्थ्यकर्मी तुलसा कुमारी विकले शिक्षा शाखा प्रमुख विरेन्द्रविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी छन्।

स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुर्व्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन्।

'मैले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,' उनले भनिन्, 'कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु।'

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरअन्तर्गत दफा २२४ अन्तर्गत मुगु जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे अदालतका सूचना अधिकारी जयलाल बुढाले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख मल्लले राति आफूलाई फोन गरेर भेट्न आउँछु भन्दै यौन हिंसा गरेको तुलसीले बताएकी छिन्।

उनले भनिन्, ‘वीरेन्द्रबहादुर मल्ल अहिले सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ। पहिला निमित्त हुनुहुन्थ्यो। उहाँले मलाई आफ्नो गाउँमा पठाउनुभयो। पछि राति फोन गरेर तपाईं कहाँ हुनुहुन्छ? म भेट्न आउँछु भन्ने कुरा गर्न थाल्नुभयो।’

उनले थपिन्, ‘मैले इन्कार गरिरहेँ। गएको केही महिनामा रक्सी खाएर केही युवाहरूले विभिन्न बहानामा हिंसा गरे। मैले गाउँमा प्रहरी ल्याएपछि मलाई नै धम्क्याउन थाले। पछि त घरभेटीले समेत पानी नचल्ने, कोठा अन्त सार भन्दै विभेद गर्न थाले।’

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरअन्तर्गत दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने उल्लेख छ। उपदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनुहुँदैन भनिएको छ।

त्यस्तै  उपदफा (२) मा कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ।

प्रकाशित मिति: : 2023-12-28 17:43:00

प्रतिकृया दिनुहोस्