यसरी कार्यान्वयन भयो माओवादीको सल्यान मोडल 

Breaknlinks
Breaknlinks

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारकाे नेतृत्वमा आएपछि गरेका केही राम्रा कामको प्रभावस्वरुप माओवादीको खस्कँदो साख बचेको छ। पूर्वगृहमन्त्रीदेखि पूर्वमन्त्रीसम्मले जेलको चिसो हावा खाँदै गर्दा जनता सकुनको सास फेरिरहेका थिए।

जनता सन्तुष्ट भएको बेला माओवादीले प्रधानमन्त्री प्रचण्डले गरेका राम्रा काम दुरदराजमा फैलाउने योजना बनायो। केन्द्रीय समितिको बैठकमा पुरानो साख बचाउने या सकिने विषयमा गम्भीर बहस भयो। रुपान्तरण हुने वा सकिने सवालको बहसमा रुपान्तरणको पल्ला भारी भयो।

रुपान्तरण अन्तिम विकल्प मात्रै नभएर संकल्प ठानियो। यो दृढ संकल्प बोकेर देशभर पार्टी नेता र कार्यकर्ता परिचालन गरिएको थियो। केन्द्रीय समितिमा रहेका वा पोलिटब्युरो सदस्यहरुलाई जिल्ला इन्चार्जको रुपमा खटाइएको थियो।

नेतृत्व पंक्ति जनतासँग पुग्नेगरी तय गरिएको कार्यक्रमले सल्यान जिल्लाको इन्चार्ज नेकपा माओवादी केन्द्रका पाेलिटब्युरो सदस्य नरेश भण्डारीलाई तोक्यो। हरेक काममा नसकिन्जेल एकोहोरो लागिरहने परिचय पाएका भण्डारी सल्यान जिल्लाको इन्चार्ज हुँदा पनि त्यसरी नै लागे। प्रतिबद्ध भएर लागेका उनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमार्फत देशभर तहल्का नै पिटे।

देशभर भएका गतिविधिभन्दा पृथक, रचनात्मक र सृजनात्मक ढंगले अभियानलाई अगाडि बढाए। जसको गर्भबाट मतदातासँग मनका कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, संकल्पसभा, उत्पादन उत्प्रेरणा, जनतासँग जनसंगठन, दुखीसँग दुई दिन, म गर्छु, म पढ्छु, म सक्छु, म बोल्छु, म लेख्छु, मिलन पुनर्मिलन, विकासमा विवेक र बेथिति, विचार बहस, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यमा सकस र समाधान, संगठन नै शक्ति, संकल्पसभा, संचारकर्मीसँग सहकार्य, गुटबन्दीलाई छैन छुट, सिर्जनशील सप्ताहलगायतका थप कार्यक्रमको जन्म भयो।

‘सरकारले प्रारम्भ गरेको सुशासन, भष्ट्राचार नियन्त्रण, जनजीविकामा गरेका कार्यहरु र घाटामा चलेका संस्थानहरुलाई नाफा आर्जन गर्न योग्य बनाएकोमा सरकारलाई धन्यवाद ब्यक्त गर्दछु,’ उनले भने, ‘सरकार जनताको भयो भने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सार्थक ठहरिनेछ।’

भण्डारीले अभियानका सम्पूर्ण तथ्यांक राखेका छन्। अभियानसँग सम्बन्धित ४ महिना १० दिनमा उनले १ लाख ५ हजार २ सय ८० जनतासँग प्रत्यक्ष भेटेको बताए।

‘त्याे अवधिमा हामी १३ हजार ८ सय २४ जना जनपरिचालन गर्‍यौँ। ६ हजार ५ सय २ वटा पार्टी सदस्यता नवीकरण भयो,’ उनले थपे, ‘१८ सय ३८ जनालाई नयाँ पार्टी सदस्यता वितरण गरियो। तीन सय ३८ जनाले अन्य पार्टी छोडेर  माओवादी केन्द्रमा प्रवेश गरे।’

उनकाअनुसार ७ सय ६९ वटा संगठन निर्माण भए भने ५ सय ३० वटा बैठक, २ सय ३० पल्ट जनसेवा/जनश्रम भयो। यो अवधिमा पार्टी र अभियान सफल पार्न र खर्च व्यवस्थापनका निम्ति २४ लाख ३१ हजार ९० रुपैयाँ संकलन भयो।

हिजाे युद्धमा हुँदा माओवादीले बारबार प्रशिक्षण गर्थ्याे। जनादेशलगायत पत्रिका र मुखपत्रहरु वैचारिक खुराक थिए। जसले माओवादीले ल्याउन खोजेको नौलो जनवाद, साम्यवादी व्यवस्था र कम्युनिज्म के हो भनेर सिकाउँथे। तर, आज ती प्रकाशन बन्द भएका छन् भने वैचारिक खुराकको खडेरी परेको छ। यस्तो अवस्थामा ढुङ्गा फोरेर उम्रिएको पिपलझैं पार्टीको मुखपत्र ‘सल्यान संकल्प‘ प्रकाशन भयो। स्खलनको दिशामा गएको एउटा क्रान्तिकारी पार्टीलाई सही दिशामा डोर्‍याउने महत्त्वपूर्ण दस्तावेजको रुपमा ‘सल्यान संकल्प‘ स्थापित हुने भण्डारीको विश्वास छ।

उनी सल्यान हुँदा गरिएका प्रमुख कार्यहरुमा दार्माका भूकम्प प्रभावितहरुका क्षतिग्रस्त भवनहरुको भग्नावशेष हटाउने तथा १७० अस्थायी आवास निर्माण कार्य, अभियान टोलीको नेतृत्वमा ४०० मिटर सडक निर्माण तथा सार्वजनिक श्रम कार्यहरु पर्दछन्।

कुपिण्डे दह परिसरमा आयोजित अभियानको समीक्षा तथा समापन कार्यक्रमबाट पारित ६ बुँदे कुपिण्डे समसामयिक प्रस्ताव तथा ६ बुँदे कुपिण्डे घोषणापत्र जारी गरेको छ। जो अभियानको महत्त्वपूर्ण अंग बनेको भण्डारीको दाबी छ।

जसले जाजरकोट, रुकुम (पश्चिम), सल्यानलगायतका जिल्लाका भूकम्प पीडितहरुको अबिलम्ब अस्थायी आवास निर्माण, सल्यान जिल्ला बनगाडकुपिण्डे नगरपालिका वडा नं. ८ स्थित कुपिण्डे दह(ताल)लगायतका पर्यटकीयस्थलहरुको संरक्षण तथा विकासको प्याकेज निर्माण, संघीयतालाई संस्थागत विकासका लागि सिघ्र आवश्यक कानुनहरु निर्माण, सल्यानको समग्र विकास, समृद्धि र सुशासनको कार्यनैतिक एवम् रणनीतिक योजनाहरु तर्जुमा गरी लागु गरियोस् भन्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।

भिन्न स्वरुपमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिने, सल्यानको विकास र समृद्धिको रणनीति तयार गरी कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने, सैद्धान्तिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई जिल्लाब्यापी विस्तार गर्ने गरी कुपिण्डे घोषणापत्र जारी गरिएको छ।

दार्माका भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणमा आन्तरिक शक्तिको एकीकृत र केन्द्रिकृत परिचालन गर्ने, पार्टीलाई सुदृढ, एकताबद्ध, रुपान्तरित र विस्तारित गर्न दृढतापूर्वक अगाडि बढ्ने, कुपिण्डे ताललगायतका सल्यान जिल्लाका पर्यटकीयस्थलहरुको संरक्षण तथा विकासको विशेष प्याकेज निर्माण तथा कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गर्ने लगायतका ६ बुँदे घोषणापत्रमा उल्लेख छन्।

सल्यानमा आगामी दिनमा समेत अभियान निरन्तर रहने गरी संयन्त्रको विकास गरिएको भण्डारीको भनाइ छ। उनले समग्र पार्टीलाई उत्साह दिएका छन्। आशाभन्दा बढी निराशावादी राजमार्गमा सुस्त हिँडिरहेको कम्युनिस्ट आन्दोलनलाई एक हदसम्मको गति प्रसारण गर्न भण्डारी सफल भए। उनले कमान्ड गरेको अभियान र कार्यान्वयन गरेका कार्यक्रमलाई ‘माओवादीको सल्यान मोडल’ भनिएको छ। जो काफी हदसम्म सफल भएको छ।

प्रकाशित मिति: : 2024-01-05 12:50:00

प्रतिकृया दिनुहोस्