राष्ट्रपति रामचन्द पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदैछन्।
राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
बुटवल उपमहानगरपालिका–१ स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ।
सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले जानकारी दिए। किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए।
जितगढी किल्लाको ऐतिहासिकता
छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो। बुटवल – १ स्थित गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ। समुद्र सतहभन्दा करिब एक सय ४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ। गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी रहेको छ। चारैतिरबाट हाल गढी घेरिएको अवस्थामा रहेको छ। जितगढी किल्लाको उत्खनन प्रारम्भ आव ०५५/५६ (पुरातत्व विभाग)। विसं २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ।
जितगढीमा तत्कालीन अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ। जितगढीमा विसं १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। सोही दिन ९वैशाख ७ गते० लाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन कामको थालनी भएको हो।
जितगढीमा अङ्ग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ। नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल थापासहित काजी वीरभञ्जन पाँडे (गुरुबक्स कम्पनी), कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ जुठे बस्नेतका सालिक राखिएका छन्। नेपालकै ठूलो राष्ट्रिय झण्डा फरफहराइरहेको साथै हरियाली बगैँचा तयार भएको र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएका छन्।
जितगढी सम्पदाको गुरुयोजना बनाएर काम हुँदा यहाँको स्वरुपनै निक्कै आकर्षक बनेको जितगढीको संरक्षण र प्रचारप्रसारमा क्रियाशील रवीन्द्रगोपाल लाकौल बताए।