सर्लाहीको बरहथवामा झडप: गोली लागेर एककाे मृत्यु, प्रहरीसहित आधादर्जन घाइते

सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर विवादपछि भएकाे झडपमा प्रहरीकाे गोली लागेर बरहथवा–६ का ३० जयशंकर साहको मृत्यु भएकाे हाे।

स्वास्थ्य केन्द्रको विवादमा नगरपालिका कार्यालय घेराउ गर्न पुगेका असन्तुष्ट स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जनाएकाे छ।

झडपका क्रममा प्रहरीले चलाएकाे गाेली लागेर साह घाइते भएका थिए। घाइतेकाे उनकाे उपचारकाे लागि अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे हाे। झडपमा ६ प्रहरीसहित ८ जना घाइतेका छन्।

प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो।

बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि  निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो।

प्रकाशित मिति: : 2024-01-05 17:03:00

प्रतिकृया दिनुहोस्