पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयप्रति आपत्ति 

सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। 

सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने बताएको थियो। केही दिनअघि संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानलाई न्याथममा गाभ्न मन्त्रिपरिषद्मा पठाएको थियो। 

सरकारले दुई निकाएलाई एउटै बनाउने प्रकृया थालेपछि प्रतिष्ठानका पूर्वपदाधिकारीहरूले आपत्ति जनाएका छन्। दुई निकाय समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरूसँग छलफल नभएको भन्दै उनीहरूले तत्काल रोक्नुपर्ने माग गरे। 

प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको ट्रेकिङ गाइड, हिमालसम्बन्धि प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताइन्। प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नुपर्ने ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवारीपन देखाएको उनको भनाइ छ। 

शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धी समाप्त पार्न खोजेको शेर्पाले बताइन्। उनले न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुवै निकायको भूमिका फरक रहेको बताइन्। 

जसकारण दुई निकायलाई एकआपसमा  गाभ्न नहुने शेर्पाको तर्क छ।

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए।

पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरूलाई विश्वमा चिनाउँदै आएको बताउँदै उनले यसलाई समायोजन नगरेर थप सशक्त बनाउन सरकारलाई आग्रह गरे। 

यस्तै छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरू पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा राज्यले नै  निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए। 

उनले नेपालको हिमालकाबारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउनसमेत सरकालाई आग्रह गरे।

प्रतिष्ठानका पुर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए।

साथै प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थीहरू आन्दोलनमा उत्रिने चेतावनी दिए।

प्रकाशित मिति: : 2024-01-06 19:39:00

प्रतिकृया दिनुहोस्