पाटन माध्यमिक विद्यालय प्रथम
ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा पाटन माध्यमिक विद्यालय प्रथम भएको छ।
उक्त विद्यालयले एक लाख नगद पुरस्कारसहित रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ।
दोस्रो स्थान हासिल गर्दै हरिसिद्दि माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ नगद सहित रनिङ सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय हुने ओमेगा माध्यमिक विद्यालयले पचास हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्राप्त गर्याे।
पुरस्कृत हुने विद्यालयलाई महानगरका प्रमुख चिरीबाबु महर्जनले नगद सहित सिल्ड र प्रमाणपत्र प्रदान गरेका हुन्।
यसैगरी कार्यक्रममा महानगरभित्र भएका प्रतियाेगितामा विजय हासिल गरेकाे क्लबहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएकाे थियाे।
पुरस्कृत हुनेमा ए डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लबले चार लाखका दरले नगद पुरस्कार प्राप्त गरेकाे थियाे।
बि डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लबले तीन लाख रूपैयाँका दरले प्राप्त गरेकाे छ। सी डिभिजनमा रहेका सानेपा युथ क्लव, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई दुई लाखका दरले नगद पुरस्कार दिइएकाे छ।
पुरस्कार प्रदान गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले यस वर्ष आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थी संख्या वृद्धि भएको बताएका थिए। ‘यो हाम्रो लागि खुसीकाे कुरा हाे’ , उनले भने।
राष्ट्रको सर्वोच्च संस्थाको नाममा स्थापित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता राष्ट्रिय स्तरको खेलाडी उत्पादनका लागि महत्वपूर्ण भएको उनले बताए।
ललितपुर महानगरले खेलाडीलाई प्रोत्साहित गर्न र खेल क्षेत्रको विकास गर्न मनग्य काम गरेकाे उनकाे भनाइ छ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले खेलाडीलाई प्रोत्साहित गर्न महानगरले धेरै कार्यक्रम आयोजना गरेको बताए।
ललितपुर महानगरले खेलको विभिन्न विधामा उत्कृष्ट प्रस्तुति गरेको बताउँदै पुरस्कृतहरूलाई बधाई दिए।
सामाजिक विकास समितिका संयोजक एवम वडा नंं.९ का वडा अध्यक्षले उक्त प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
आर्थिक अभावका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने अवस्था नआओस् भनेर व्यवस्थापन र तयारी खर्च दिएको बताए। उनले भने, ‘५ वटा भन्दा बढी विधामा सहभागी भएको विद्यार्थीलाई ४० हजार र ५ भन्दा कमलाई २५ हजार दियौंँ।’
तयारी र व्यवस्थापन खर्चको व्यवस्थाले सामुदायिक विद्यालयलाई प्रोत्साहित गरेको बताए। ललितपुर महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले यस वर्षको प्रतियोगिता रोमाञ्चक भएको बताए।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूरुको प्रस्तुत बेजोड रहेको बताउँदै सबै क्षमतावान भएको प्रष्ट पारे। विद्यालय तहमा प्रतिस्पर्धा गरेका विद्यार्थीहरुले प्रदेश,संघ हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा सक्षम हुने दाबी गरे।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाडले ललितपुर महानगरले खेल क्षेत्रको विकासका लागि खेलाडीलाई प्रोत्साहित गर्न धेरै काम गरेको बताए।