परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको बताएका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै विपिनको रिहाइमा कतारबाट पनि सहयोग हुने आश्वसान प्राप्त गरेको जानकारी दिए।
मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उनले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिए।
सरकारले रुसी सेनामा भर्ती नहुन गरेको अनुरोधका बाबजुद केही नेपाली त्यहाँ भर्ती भएका र युद्धमा ज्यान गुमाएका बताए।
‘विद्यार्थी र भिजिट भिषामा रुसमा दुई सयजना रहेका अनुमान गरिएको छ’, उनले भने, ‘जोखिमयुक्त मुलुकमा रोजगारीका लागि नेपालीलाई पठाउने सरकारको नीति छैन।’ रुसमा रहेकालाई सकुशल फिर्ता ल्याउने, शव ल्याउने र घाइतेको उद्धार गर्ने प्रयत्न भइरहेको जानकारी दिए।