इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक

बिएल संवाददाता

ग्वायाक्विल
Symbolic photo
Symbolic photo

इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ।

कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ। प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन। बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन्।

राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो।

यो सङ्कट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो।

फिटो भागेपछि जेलमा दङ्गा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए।

भागेका कैँदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ। अधिकारीहरूले शहरका मुख्या भागमा कर्फ्यु लगाइ जेलहरूमा छापा मारेका छन्।

पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि छ वटा शहरका हिरासत केन्द्रमा छापा मारेका थिए।

ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच जना कैदी भागेका थिए र तीमध्ये दुई जनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

उनीहरू भागेलगत्तै सहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुईवटा हेलिकप्टर र ड्रोन उडिरहेको देखिएको थियो।

इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारीहरू गस्ती गरिरहेका छन्।

कुनै समय प्रमुख कोकिन उत्पादकहरूको बीचमा अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र यूरोपमा लागुऔषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षौंको बढ्दो नियन्त्रणपछि सङ्कटमा फसेको छ।

करिब एक करोड ७० लाख जनसङ्ख्या रहेको यो देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ।

पछिल्लो आधिकारिक रिपोर्टअनुसार ८५९ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ, २५ जना फरार कैदीलाई पुनः पक्राउ गरिएको छ, पाँच जना ‘आतङ्ककारी’ मारिएका छन् र ५७ जना अपहृत व्यक्तिहरूलाई रिहा गरिएको छ।

माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ।

पछिल्ला दिनहरूमा पक्राउ परेका संदिग्ध गिरोहका सदस्यहरूलाई उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, एकअर्कालाई कुटपिट गरेको वा सैनिकहरूले दुर्व्यवहार गरेको अन्य तस्बिरहरू सार्वजनिक भएका छन्।

प्रकाशित मिति: : 2024-01-14 13:09:00

प्रतिकृया दिनुहोस्