केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन्। जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ।
स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ। सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ।
जैमिनी नगरपालिका–५ बिनामारेका २२ वर्षीया यामुना नेपालीले दुई महिना पहिला शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगिन्। जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुनलाई यामुनालाई प्रेरित गरेको थियो प्रसूति प्रतिक्षा घरले। सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत बच्न सफल भएका छन्।
'बेथा लागेर हिँड्दा समस्या नआउला भन्न सकिँदैन, अहिले त स्वास्थ्य स्वयंसेविकाले घरमै गएर सुत्केरी हुने मितिको विषयमा जानकारी गराएर स्वास्थ्य संस्था बोलाउनुहुन्छ। दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ', यामुनाले भनिन्, 'स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो। हामीजस्ता व्यक्ति होटेलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो। अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ।'
यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई सुत्केरीको भन्दा खाने बस्ने र कुरुवाको समस्याले सताउने गरेको पाइन्छ। पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई सहजमात्रै बनाएको छैन, खर्च र समय दुवैको बचत गराएको छ। प्रसूति प्रतिक्षा घर नहुँदा यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्दै आएका थिए।
बागलुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा परिचय कमाएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर नै निर्माण गरिएको छ।
भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकी प्रमुख कसिन्द्र शाहीले जानकारी दिए। बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै १४० गर्भवती सुरक्षित सुत्केरी भएको शाहीले बताए।
चालु वर्षमा मात्रै ५४ गर्भवती सुरक्षित सुत्केरी भइसकेका छन्।