प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु १० अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ।
नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर रु दश अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए। उनका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा रु चार लाख अनुदान उपलब्ध गराइएको छ।
नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ। दैनिक एक हजार पाँच सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक चार सय लिटर दूध सङ्कलन हुँदै आएको छ।
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक एक सय ५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए। सहकारीले त्रैमासिकरुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ।
स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले बताए। सहकारीमा दैनिक दुई सय ५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ।
दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ।