सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमाथि ढुङ्गा प्रहार भएको छ।
बुधबार साँझ वनकाे स्थलगत अनुगम गरी फर्किने क्रममा सचिव सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार गरिएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका– १९ फूलबारीमा उनी सवार गाडी रोकेर केही युवाले ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट गाडी पछाडिको सिसा फुटेको छ।
ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई बुधबार नै पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कैलाली गाउँपालिका–४ का शनि चौधरी, रावल चौधरी र क्षितिज चौधरी रहेका छन्।
उनीहरुलाई आज शुक्रबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
बुधबार छ जनालाई प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानपछि तीन जनालाई छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी इन्पेक्टर सन्तोष बस्यालले जानकारी दिए।