जुम्लाको चन्दननाथ नगरपालिका-५ खलंगा बजारमा रहेको अर्गानिक कोसेली घरमा आगलागी भएको छ।
शनिबार राति १ बजे विद्युत् सर्ट भएर पसलमा आगलागी भएको हो।
आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। कोसेली घरसँगै जोडिएको चिया पसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
आगलागी भएको खबर राति साढे १ बजेतिर मात्रै आफूलाई थाहा भएको कोसेली घरका सञ्चालक गोविन्द आचार्यले बताए।
उद्योग वाणिज्य संघको हलसँगै टाँसिएको चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा एक कोठाको कच्ची भवनमा अर्गानिक कोसेली घर स्थापना गरिएको थियो।
आगलागीबाट ३५ लाख बराबरको सामान नष्ट भएको छ। आगो निभाउन नेपाली सेनाको नन्दाबक्स गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी र चन्दननाथ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।