हिमपात नहुँदा हुम्ली किसान चिन्तित

तस्बिर: गाेरखापत्र अनलाइन
तस्बिर: गाेरखापत्र अनलाइन

हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन्। माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन बढेको हो। 

पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे। यस वर्ष जिल्लामा दुईपटक मात्रै हिमपात भएको छ। त्यसले किसानमा खासै उत्साह छैन। 

जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ। हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन। 

मङ्सिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात खासै भएन। यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ। 

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेषगरी किसान चिन्तित बन्न थालेका छन्। हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन्। 

सिमकोट–२ ठेहेका गौगोरा बोहराले भने, ‘जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ, विगतका वर्षमा कात्तिकदेखि फागुनसम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो।’ 

यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन्। पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन्। 

जलवायु परिवर्तनमा आएको असर हुम्लासमेत परेको छ। आकाशमा बादल देखिए हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए। 

प्रकाशित मिति: : 2024-01-22 19:06:00

प्रतिकृया दिनुहोस्