त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा आइबातर बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द अधिकारले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘आज हामी सबै संगठनका पदाधिकारीले गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै उपमहासचिव अधिकारीले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’
गत शुक्रबार दिउँसो विमानस्थलको प्रस्थानतर्फको पास होन्डर सेक्यूरिटी चेक इलाकामा अध्यागमनका शाखा अधिकृत छायालाल मोक्तान र त्यहाँ सुरक्षमा खटिएका प्रहरीबीच विवादपछि कुटाकुटमा भएको थियो। त्यसपछि कर्मचारीहरू आन्दालित भएका हुन्।
कर्मचारीको पाखुरामा कालोपट्टी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन्।
शुक्रबार दिउँसो प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको हात हालाहालको घटनाको विरोधमा उनीहरुले कालोपपट्टी बाँधेको बताइएको छ।
कुटपिटकाे घटना छानबिनको निम्ति गठित समितिका संयोजक गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको टोली विमानस्थल पुगेर सीसीटिभी फुटेज निरीक्षण गरेको थियाे।
टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसीलगायत थिए। कुटपिटको घटनाका दोषी प्रहरीलाई हदैसम्मको कारबाहीको माग गर्दै अध्यागमन विभागलाई कार्यालयले लिखित जानकारी गराएको छ।
घटनामा प्रहरीलाई दोषी औँल्याउँदै अध्यागमन कार्यालयले छानबिनका लागि विभाग गुहारेको थियो।