मुगुकाे पुरुमुरुमा फैलियाे रुघाखोकी, तीन जनाकाे मृत्यु

मुगुको सोरु गाउँपालिका–६,पुरुमुरु गाउँभरी रुघाखोकी र ज्वरो फैलिएको छ। 

रुगाखोकीका कारण पुरुमुरु गाउँमा तीन जनाको मृत्यु भएको छ भने १ सय ३५ जना थला परेका छन्।

मौसमी रुघाखोकीको प्रभाव बढ्दै गएपछि गाउँमा समस्या थपिँदै गएका छन्। पुरुमुरु गाउँकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएपछि चार महिने शिशुसहित तीन बालबालिकाको बिचल्ली भएको छ।

उनका चार महिनाकी एक छोरी, पाँच वर्षीय छोरा र  तीन वर्षीया छोरी अलपत्र परेका हुन्।

कुसुमका सुसुरा सलबहादुर ढोलीले बुहारीको मृत्युपछि नातिनातिनाहरू सम्हाल्न गाह्रो भएको दुखेसो पोखे।

'बुहारीको मृत्युले दु:खीमात्रै छैनौं यी साना नातिनातिनाहरू कसरी सम्हाल्ने भन्ने पिरलो थपिएको छ,' उनले भने, 'नातिनातिनाले आमा कहाँ जानु भयो भनेर सोधिरहन्छन्। केही समय पछि आउँछिन् भनेर झुटो बोल्ने गरेको छु।'

उनले छाक टार्नै धौधौ भइरहेका बेला  बुहारीले छोडेर गएपछि बालबालिकाहरूलाई के खुवाएर पाल्ने चिन्ता थपिएको बताए।

सलबहादुर आफू पनि बिरामी छन्। उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन्।

परिवारको गर्जो टार्न कुसुमका ससुरा सलबहादुर र श्रीमान धान्ने ढोली गत मंसिरमा भारत गएका थिए। 

उनीहरू भारत गएको दुई महिना नबित्दै घरमा कुसुम बिरामी परिन्। बिरामी भएको खबर पाएपछि बुवा छोरा घर फर्किए। तर उनीहरू घर पुग्ने वित्तिकै कुमुसले संसारबाट बिदा लिइन्।

उक्त गाउँमा जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली पुगी चेकजाँच गरेका थिए । बिरामीहरूको स्वाभ संकलन गरी काठमाडौं पठाइएको छ।

रिर्पोट आउन केही समय लाग्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताएका छन्।

प्रकाशित मिति: : 2024-01-28 16:42:00

प्रतिकृया दिनुहोस्