सहरी विकास मन्त्रालयले बालेन आक्रोशित हुने गरी के भनेकाे थियाे?

काठमाडाैँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले साेमबार बिहान धरहराकाे पार्किङकाे विषयलाई लिएर सामाजिक सञ्जालमा आक्राेश पाेखे। उनकाे स्टाटसले सरकारसँगै एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिज्यारहेकाे थियाे।

महानगरले न्युराेड क्षेत्रबाट पार्किङ हटाएर धरहरामा विकल्प दिएकाे थियाे। महानगरले निर्माणाधीन धरहरा क्षेत्रमा नि: शुल्क पार्किङ खुला गरेकाे थियाे। तर, सहरी विकास तथा भवन निर्माण विभागले त्यसमा अवराेध गर्याे।

अनि, बालेन आक्राेशित बने।

उद्घाटन भएकाे २ वर्ष ९ महिना बित्दा पनि धरहरा बन्द छ भन्नु लज्जाकाे विषय भएकाे उनकाे भनाइ थियाे।

‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ’, उनले लेखेका थिए।

उनले निर्माण कार्य सम्पन्न नहुँदै उद्घाटनमा हतार गर्ने नेताहरुकाे प्रवृत्तिलाई गिज्याउँदै प्रश्न उठाएका थिए।

बालेनलाई आक्राेशित बनाउने त्यस्ताे के थियाे पत्रमा?

सहरी विकास तथा भवन निर्माण विभागले गत आइतबार महानगरलाई पार्किङ राेक्न भन्दै पत्र लेखेकाे थियाे।

धरहराकाे पार्किङ क्षेत्रमा विद्युतीय उपकरण, भेन्टिलेसन, अग्नि नियन्त्रण प्रणाली, सिसिटिभी लगायतकाे व्यवस्था नगरेका कारण मानवीय सुरक्षाका दृष्टिकाेणले पार्किङ गर्न उपयुक्त नहुँदा नहुँदै सल्लाह नै नगरी पार्किङ खुल्ला गरिएकाे विभागकाे भनाइ थियाे।

पार्किङ क्षेत्रमा छुटपुटका कामहरु बाँकी रहेका कारण काममा समस्या हुने भएकाेले विभागले अहिले पार्किङ खुला गर्न नमिल्ने बताएकाे छ।

पत्र:के भन्छ महानगर?

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पार्किङमा कुनै समस्या नरहेकाे बताए।

पार्किङका लागि चाहिने सबै व्यवस्था मिलाइएकाेले बन्द गर्न जरुरी पनि नरहेकाे उनकाे भनाइ छ। ‘हाल भएको तीन पार्किङहरुमध्ये एउटामा मात्रै पर्किङ गरिएको छ। त्यसको लागि महानगरले सबै कुरामा ध्यान दिइरहेको छ,’ उनले भने, ‘बिहानमात्रै महानगरले पार्किङको अवलोकन, सरसफाइ तथा आगलागी नियन्त्रक यन्त्र जडित गरेका छौँ।’

उनले पार्किङको विषयलाई लिएर प्रपाेगाण्ड फैलाइएकाे आराेपसमेत लगाए। ‘निर्माणाधीन क्षेत्रमा केही समस्या त हुन्छन नै तर त्यसको व्यवस्था स्वयम् महानगरले पनि गरिरहेको छ,’ उनले भने, ‘यो सब प्रप्रोगाण्ड फैलाउन मात्रै भएका कुराहरु हुन्। तर, कसले गर्दैछ महानगर अनविज्ञ छ।’

प्रकाशित मिति: : 2024-02-05 18:30:00

प्रतिकृया दिनुहोस्