रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–२ र वडा नं ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल समयमै नबन्दा स्थानीय समस्यामा परेका छन्। गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानीमार्फत दुई वडाको सिमाना जोड्ने सो खोलामा पुलको काम पूरा नहुँदा स्थानीयको यात्रा जोखिम पूर्ण बनेको छ।
पुलको काम २०७७ मा सुरु भएको थियो। पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरी २०७७ माघ २७ गते कार्यादेश दिइएको थियो। सुरु भएको आज तीन वर्ष पुग्दासमेत पुल सम्पन्न हुनसकेको छैन।
यसैबीच उपभोक्ता समितिलाई चारपटक म्याद थप गरिएको छ। पुल सम्पन्न नहुँदै उपभोक्ता समितिले गत असारमा गरेको कामको आधारमा भुक्तानी पाएको छ।
हेर्दै अनौठो लाग्ने पुल भए पनि बाटो छैन। पुलका दुवै पिल्लरतर्फ बाँसको सिँढी लगाइएको छ। स्थानीय बाँसको सिँढी उक्लेर पुलसम्म पुग्ने गरेका छन्। स्थानीय पुल पार गरेपछि पुनः बाँसकै सिँढीबाट झर्ने गरेका छन्।
कोटहीमाई वडा नं २ भुवरी र वडा नं ५ बेनीनगर जोडने यो पुलमा यात्रा गर्दा कतिपयका हातखुट्टा भाँचिएका छन् भने कतिपयलाई चोटपटक लाग्ने गरेको छ। करिब ७० वर्षीय स्थानीय सोहरत अहिरले आफ्नो जीवनमै यस्तो पुल नदेखेको बताए।
‘यस्तो अप्ठ्यारो पुल छ, दैनिक दुर्घटना हुने गरेको छ’, अहिरले भने ‘केही दिनअघि पनि भुवरीका एक जनाको खुट्टा भाचियो, खै कहिलेसम्म यस्तो नियति भोग्ने हो।’ हिउँद भएर केही सजिलो भएका स्थानीयहरुलाई भने वर्षायाममा पुल चढ्नै पर्ने बाध्यता रहेको छ।
वडा नं २ का अधिकांश विद्यार्थी मझगाँवामा अध्ययनका लागि आउने गरेका छन्। पुलकै कारण दैनिक आफ्नो पहिलो कक्षा छुट्ने गरेको कक्षा १२ का विद्यार्थी सन्तोष मौर्यको भनाइ छ।
‘पुलमा साइकल चढाउनै सक्दिन, पैदल जानुपर्छ, जसले गर्दा विद्यालय पुग्दा पहिलो कक्षा छुट्ने गरेको छ’, मौर्यले भने, ‘पुलकै कारण पढ्न जान प्रत्येक दिन अप्ठ्यारो हुन्छ, हात खुट्टा भाँचिने जोखिम उस्तै छ।’
विसं २०७७ मा सम्झौता भएको उक्त पुलमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को रु ६१ लाख ९४ हजार सात सय ६२, गाउँपालिकाको रु १० लाख ४५ हजार दुई सय ४०, लठ्ठा, बोल्डर, ग्रीपलगायत सामग्रीको रु छ लाख ३९ हजार पाँच सय तीन र उपभोक्ता समितिको रु एक लाख ६० हजार आठ सय छ गरी जम्मा रु ८० लाख ४० हजार तीन सय १२ लगानी रहेको छ।