सरकार एनआरएनए फुटेको देख्न चाहँदैन: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवाद समधान गर्न विदेशमा रहेका नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

सातौँ हिन्द महासागर सम्मेलनका लागि अष्ट्रेलियाको पर्थ पुगेका मन्त्री साउदले नेपाली समुदायले आयोजना गरेको अन्तर्क्रियामा एनआरएनएभित्रको विवाद सल्टाउन आफूले सबैलाई एकजुट हुन र मिल्नका लागि अनुरोध गरिरहेको दाबी गरेका हुन्।

‘धेरै कुराहरू आए। सबै कुरा मैले हेरिरहेको थिएँ। तर, म एउटा कुरामा संवेदनशील के थिएँ भने तपाईंहरू एकजुट हुनुहोस् है’, उनले भने, ‘मलाई भेट्न तत्कालीन ३ वटै अध्यक्ष आउनुभएको थियो। मैले अहिले देखिएको समस्या आफैँबाट हल गर्नका लागि अनुरोध गरिरहेको छु। सरकारले छानविन समिति पनि बनाएका छ, तर आफैँ मिल्नुको विकल्प छैन।’

मन्त्री साउदले विदेशमा बस्ने नेपालीहरूबाट सरकारले दुई वटा कुराको मात्र अपेक्ष गरेको बताए।

‘पहिलो कुरा के हो भने विदेशमा बस्ने नेपालीहरू एकजुट हउन्। आपसी सम्बन्ध राम्रो होस्। नेपालीहरू समस्यामा परेका बेला एकअर्कालाई सहयोग गरुन्। नेपाली समुदायभित्र सहयोग गर्न मेकानिजम एनआरएनएले बनाउन सकोस्। हाम्रो दोस्रो अपेक्षा के हो भने विदेशमा बस्ने नेपालीले आर्जन गरेको लगानी नेपालमा ल्याउन्’, उनले भने।

सरकारले गैरआवासीय नेपाली एकजुट भएको देख्न चाहेको उनले बताए। ‘म त्यो कुरा चाँहि (एनआरएनए फुटेको) सकभर भएको देख्न चाहन्नँ। नेपाल सरकार पनि देख्न चाहँदैन,’ उनको दावी छ, ‘यस्ता संस्थाहरू राजनीतिभन्दा हुनुपर्छ। हाम्रो दृष्टिकोण पनि यही छ।’

उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै अधिकारको प्रत्याभूति नेपालको संविधान व्यवस्था गरेको समेत बताए।

प्रकाशित मिति: : 2024-02-12 11:57:00

प्रतिकृया दिनुहोस्