‘खुम्बु ल्होसार कप’: खुम्बु भेटेरेन्स र नाम्चे युवाकाे खेल बराबरीमा टुङ्गियो

काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको दोस्रो दिन २ खेल सम्पन्न भएकाे छ। 

महेन्द्र ज्योती एक्स् (पूर्व) विद्यार्थी मञ्च र  खुम्बु यम्बु शेर्पा समाजबीच भएको पहिलो खेल ०–० गोल अर्न्तरमा टुङ्गिएको थियाे। उक्त खेलको म्यान अफ द म्याच खुम्बु यम्बु शेर्पा समाजका खेलाडी सोनाम शेर्पा भए।

त्यस्तै प्रतियोगिताको दोस्रो खेल खुम्बु भेटेरेन्स युनाइटेड र नाम्चे युवा समूहबीच भएको छ। १–१ गोल अर्न्तरमा समाप्त भएको उक्त खेलको म्यान अफ द म्याच, खुम्बु भेटेरेन्स युनाइटेडका खेलाडी पेम्बा शेर्पा बने।

सोमबारबाट सुरु भएको प्रतियोगितामा ठमिछोवा र खुम्जुङ युवा क्लबबीच भएको पहिलो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो भने खेल १–१ गोल अर्न्तरकासाथ बराबरीमा टुङ्गिएको थियाे। खेलको म्यान अफ द म्याच ल्हाक्पा रिता शेर्पा चुनिएका थिए। 

यस्तै, सोमबारकै अर्को खेलमा आमाडब्लम युवा क्लबले खुन्दे कम्युनिटी क्लबलाई २–० गोलअर्न्तरले पराजित गर्दै बाजी मारेको र छिरिङ पल्जु शेर्पा उक्त खेलको म्यान अफ द म्याच बनेका थिए।

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरूलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरूको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाइ छ।

८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन्। शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ को यो १४ औं संस्करण हो।

प्रतियोगितामा डमीछो फुटबल टिम, नाम्चे युवा समूह, खुम्जुङ युवा क्लब, आमाडब्लम युवा क्लब, खुन्दे कम्युनिटी क्लब, महेन्द्र ज्योती एक्स् (पुर्व) विद्यार्थी मञ्च, खुम्बु यम्बु शेर्पा समाज र खुम्बु भेटेरेन्स गरि ८ टिम सहभागी छन्।

प्रतियोगिताको १४ औं संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्।

यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।

माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन समारोहका साथ सम्पन्न हुनेछ।

प्रकाशित मिति: : 2024-02-13 18:48:00

प्रतिकृया दिनुहोस्