अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालले अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ।

विश्व बाल अर्बुद दिवसका अवसर पारेर बिहीबार अस्पतालमा उपचारत बिरामीलाई स्टेसनरी सामग्री वितरण तथा अभिभावकबीच जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका आधाभन्दा बढी अस्पतालबाहिर रहेका बताए। उनका अनुसार, नेपालमा करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद भएको अनुमान छ। त्यसमध्ये अस्पतालको पहुँचमा आधा रहेको उनले बताए। अस्पताल आउनेमध्ये भरतपुरको बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा आउने उनले बताए।

भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको उनले बताए। समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको उनले जानकारी दिए। तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उनको भनाइ छ।

“अहिले अभिभावकमा चेतनाको कमी छ। आधा बिरामी त अस्पताल नै आउँदैनन्। आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्”, उनले भने, “अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ।”

नेपालमा बालबालिकाको अर्बुद बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ। सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ। 

एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। उनका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन्।

नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन्। कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2024-02-16 08:50:00

प्रतिकृया दिनुहोस्