नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र लण्डन म्याराथनमा सहभागी हुने

नवौँ धारा नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउने भएका छन्।

नेपालगञ्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको हाे।

गोपीले आफ्नो लागि नेपालगञ्ज म्याराथन सधैँ लक्की रहँदै आएको बताएका छन्। ‘पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो। यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ’, उनले भने, ‘नेपालगञ्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ। लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु।’

लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ। गोपीको लण्डन म्याराथनका लागि नेपाल-युके रनले व्यवस्थापन गरेको छ।

युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताएका छन्। सिटी म्याराथनमा खासमा स्थानिय निकायकै भूमिका हुन्छ,’ उनले भने, ‘तथापि त्यसमा राखेपको पनि साथ रहँदै आएको छ।’

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए।

नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए।

गोपीले मंसिर ९ गते भएको नवौँ धारा नेपालगञ्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए।

नेपालगञ्ज म्याराथनका दुई पटकका विजेता गोपी १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन्। सन् २०१९ मा स्वदेशमा भएको १३औँ सागमा उनले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

प्रकाशित मिति: : 2024-02-19 15:34:00

प्रतिकृया दिनुहोस्