जुम्लामा चन्दननाथ-४ बाट सुरु गरियो दादुरा–रुबेलाविरुद्धको खोप अभियान

आइतबारदेखि देशभर सुरु भएको दादुरा–रुबेलाको विरुद्धको खोप अभियान जुम्लाको पनि सुरु भएको छ।

चन्दननाथ नगरपालिका वडा -४ को शहरी स्वास्थ्य केन्द्र तथा खोप केन्द्रबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुभारम्भ भएको हो।

खोप अभियानको उद्घाटन कार्यबाहक समन्वय प्रमुख लग्नमाया भण्डारी, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संयुक्त रुपमन सुरु गरेका हुन्।

अभियानले लक्ष्य लिएका कोही पनि बालबालिका नछुट्ने गरी खोप लगाउन चन्दननाथ नगरपालसकाका मेयर कठायतले सुझाव दिए।

'अभियान चन्दननाथबाटै सुरु भएकोले चन्दननाथभित्रका कुनै बालबालिका नछुट्ने गरी खोप अभियान चन्दननाथका १० वटै वडाका गाउँ गाउँ पुर्‍याउन स्वास्थ्यकर्मी तयार छन्,' उनले भने, 'यो सुखद सुरुवात हो। लक्षित बालबालिकालाई खोपको पहुँचमा ल्याउन जरुरी छ।'

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य रहेको कार्यवाहक समन्वय प्रमुख लग्नमाया भण्डारीले बताइन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकारको लक्ष्यअनुसार सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न देशव्यापी खोप अभियान चलेको बताए।

चन्दननाथ-४ का वडाध्यक्ष नवराज देवकोटाले चन्दननाथका २ प्रतिशत बालबालिका अझै पनि खोपबाट बन्चित रहेकोले यो अभियानले छुटेका बालबालिकालाई प्रथामिकता दिनुपर्ने बताए।

पहिलो चरणमा जुम्लाका चन्दननाथ नगरपालिका, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकामा सञ्चालन हुनेछन् भने दोस्रो चरणमा तिला, हिमा, सिंजा र कनकासुन्दरीमा खोप अभियान सञ्चालन हुनेछ।

९ महिनादेखि ५ वर्ष मुनिका १० हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। उनका अनुसार सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने राष्ट्रिय लक्ष्यनुसार देशव्यापी खोप अभियान सञ्चालन भएको हो।

खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुनेछन् भने आठ पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2024-02-25 16:41:00

प्रतिकृया दिनुहोस्