कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ: पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

नेपाल कला परिषद् काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कलासंस्कृति र रहनसहनलाई ‘क्यान्भास’मा उतारेर काठमाडौँमा प्रदर्शन गर्दा विशेषतः खोटाङको परिचय आम नेपाली र विश्वसामु पुग्ने बताएका छन्।

कला सृजनाको अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी हाम्रो देशका कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिएका छन्। 

प्रदर्शनीको आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन गरे।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी सुरु भएको हो।

उक्त ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ। प्रदर्शनीमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ। सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अभिरुचिका साथ कला अवलोकन गर्न आएका छन्। 

प्रकाशित मिति: : 2024-02-25 21:15:00

प्रतिकृया दिनुहोस्