आम जनता पार्टी (आजपा) की उपाध्यक्ष रिता साहले जनताको पिर-मार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको साट्टा कर आतंक खडा गरिएको बताएकी छन्।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका प्रमुखलाई विभिन्न माग गरी बुधबाार ज्ञापनपत्र बुझाउँदै उनले यस्तो बताएकी हुन्।
देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गइरहेको र आर्थिक संकटबाट बह्मपुरी गाउँपालिकासमेत प्रभावित भएको उनले बताइन्।
‘जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउने, उल्टै समयमा कर नतिर्दा सजायको भागिदार बनाउने जस्ता जनविरोधी कार्य खुलेआम भइरहेको छ’, उपाध्यक्ष साहले भनिन्, ‘यो ब्रह्मपुरी गाउँपालिकाले समेत जन्मिँदादेखि मृत्युसम्म अर्थात जन्मदर्तादेखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकल्न गर्ने तर करको सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको छ।’
गाउँपालिकामा आर्थिक उत्पादनको स्राेत साधन सीमित रहेको, प्ररम्परागत खेतीप्रणालीमा आश्रित कृषि रहेको, व्यापार सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदुरहरु बाध्य भएर कष्टकर बैदेशिक रोजगारबाट जीवनयापन गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरेकी छन्।
यस्तो संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठीभर निर्वाचित जनप्रतिनिधिहरु आफूखुशी भागबण्डा गरी चाटने कार्यले गाउँपालिकाको बिकास सम्भव नभएको साहको भनाई रहेको छ।