काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको गैरकानुनी कार्यको विरुद्धमा काठमाडौँका कवाडी व्यवसायीहरु आन्दोललित भएका छन्। आज सडकमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडी नै धर्ना दिएका छन्।
कवाडी व्यवसायीमाथि महानगरले गैरकानुनी रुपमा दमन गरेको बताउँदै उनीहरुले आन्दोलनलाई थप कडा बनाउने घोषणा समेत गरेका छन्। सुन्धारास्थित महानगर कार्यालय अगाडि धर्ना दिएका व्यवसायीहरुले त्यसअघि र्याली निकालेका थिए।
बुद्धनगरस्थित बाग्मती करिडोर नजिकैको पुलबाट निस्केको र्याली थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौँ महानगरको कार्यालय अगाडि पुगेको हो। त्यहाँ उनीहरुले महानगर विरुद्ध चर्को नारावाजी समेत गरेका छन्।
‘गैरकानुनी कार्य गर्नेहरु होसियार’, ‘कवाडीमाथि डोजर चलाउन बन्द गर’, ‘कवाडी एकता जिन्दावाद’, ‘कानुनी शासन लागू गर’, जस्ता नारा लगाएका छन्।
कवाडी व्यवसायीहरुको जारी आन्दोलनमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले समर्थन गरेको छ। कतिपय आजपाका नेताकार्यकर्ता समेत आन्दोलनमा सहभागि भएका छन्।
कवाडी व्यवसायीहरुको आन्दोलनमा नारा लगाउँदै आजपा उपमहासचिव चन्द्रभुषण साह समेत देखिएका छन्। आजपा अध्यक्ष प्रभु साहले बिहीबार काठमाडौँमा कवाडी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै आन्दोलनमा समर्थन जनाएका थिए।
‘घर–घरबाट काम नलागने कावाड़ी समान किनेर काठमाण्डौंलाई सफा राखने कवाडी व्यवसायीहरुलाई सम्मान गर्नुको सट्टा त्रसित र आतंकित पार्नु दुःखद हो। आम नागरिकको संवैधानिक हकलाई हनन गर्ने अधिकार कसैलाई छैन।
यसर्थ कवाडीहरुमाथि भइरहेको गैरकानुनी हस्तक्षेप तुरुन्त रोकन सरकारको ध्यान जान जरुरी छ। तपाईहरुको आन्दोलनमा पार्टीको समर्थन छ। हामी तपाईहरुको साथमा छौं’ साहले भनेका छन्।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा समेत आजपा अध्यक्ष साहले कवाडी व्यवसायीहरुको आन्दोलनमा समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै साहले अहिले काठमाडौँमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन्।