सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारीलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ। प्रहरीले उनको घर नजिकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ।
राती अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए। साह आत्तिएर बेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याएलगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
महेन्द्र साह यसअघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ। घटनामा श्रीमान शंकाको घेरमा रहेको बताइएको छ।
उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन्।