रसियन नागरिक युरी रोडिचेभले नेपालका हिमालहरुको तस्बिरहरु संग्रहित पुस्तक प्रकाशन गर्दैछन्।
सन् १९८४देखि हालसम्म नेपाल घुम्ने क्रममा खिचेका हिमालका तस्बिरहरु संग्रहित पुस्तक प्रकाशनकाे तयारीमा रहेकाे युरीले जानकारी दिए। उनका अनुसारमा पुस्तकमा तीन दशककाे समयमा खिचेका साढे दुई सय तस्बिरहरु समावेश हुनेछन।
नेपाल घुम्ने क्रममा खिचेका हिमालहरुका तस्बिरहरु प्रकाशन गरेर नेपाललाई नै उपहार दिने इच्छाअनुसार पुस्तक प्रकाशन गर्न लागेकाे युरीले बताए।
युरीले किताब प्रकाशनका लागि नेपाल पर्वतारोहण संघ (एनएमए)लाई सहयोगका लागि प्रस्ताव गरेका छन्। आइतबार दिउँसाे एनएमए कार्यालयमा युरी दम्पती र एनएमए पदाधिकारीहरुबीच भएको छलफलमा युरीले सहयोगको प्रस्ताव राखेका हुन्।
‘किताब प्रकाशनका लागि एनएमएले सहयोग गरोस्’ भन्ने इच्छा रहेकाे र त्यसबापत ती तस्बिरहरु उपहारस्वरुप एनएमएलाई नै प्रदान गर्ने युरी दम्पतीले बताए। जसअनुसार किताब प्रकाशनका लागि सहयोग गरेमा युरीले खिचेका करिब साढे दुई तस्बिरहरु क्रेडिट दिएर एनएमएले प्रयाेग गर्न पाउनेछ।
युरी दम्पतीको प्रस्ताव राम्रो भएकोले सहयोग गर्न सकारात्मक भएको एनएमए अध्यक्ष निमा नुरु शेर्पाले बताए। ‘उहाँको योगदानलाई हामी कदर गर्दै सहयोगका लागि सरकारमा प्रस्ताव लैजानेछौँ’, अध्यक्ष शेर्पाले भने।
किताब प्रकाशनका लागि प्रकाशकलाई सहयोग गर्ने, युरीले खिचेका तस्बिरहरु छनोट गरेर पोखरा म्युजियममा प्रदर्शन गर्ने र एनएमएको सभामार्फत् युरीलाई सम्मान गर्ने अध्यक्ष शेर्पाले बताए।
युरीले तस्बिरमार्फत नेपालका हिमालहरुलाई संसारभर चिनाउनमा योगदान पुर्याएको अध्यक्ष शेर्पाको भनाइ छ।
युरीले ती तस्बिरहरु रसियाका विभिन्न सहरमा प्रदर्शन गर्दै आइरहेकाे जानकारी दिए।
युरीले किताब अंग्रेजी र रसियन भाषामा प्रकाशन गर्ने बताए।
नेपाल पर्यटन बोर्ड, फ्रेन्ज एड्भेञ्चर टिम तथा होटल होली हिमालयलगायतको सहयोग रहने प्रकाशक म्याप हाउसका सञ्चालक पवन शाक्यले बताए।