बुबा–आमाको सपना त्यागेर आफ्नो सपनाको उडान भरिरहेका कुल कप्तान 'भूपेन्द्र'

Breaknlinks
Breaknlinks

सुर्खेत विरेन्द्रनगर नगरपालिका-१२ नेवारेका भुपेन्द्र शाहीले १२ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका थिए। हाल उनी २४ वर्षका भए।

यो उमेरसम्म उनले धेरै खेल खेलिसकेका छन्। उनी आफूले खेलेका सबै खेल गनेर राखेका भने छैनन्। तर तीनै खेलबाट उनले आफ्नो जीवनमा फुटबल यात्रा सुरु गरेका हुन्।

स्थानीय स्तरमा खेल्दै 'सी' डिभिजन लिग खेलेर क्लब फुटबल करिअरको सुरुवात गरेका उनले 'बी' डिभिजनसम्म खेले। तर 'ए' डिभिजन खेल्ने उनको धोको पूरा हुन सकेको छैन। खुमलटार क्लब 'ए' डिभिजनमा प्रमोट हुनेबेला उनी त्यो क्लबबाट खेलिरहेका थिए। आफू भने 'ए' डिभिजन खेल्न पाउने अवसरको पर्खाइमा छन्।

आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको फुटबल टिमको कप्तान सम्हालेका उनी जुम्लामा भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीको टिम बनाउने छनौट प्रतियोगितामा सुर्खेत जिल्लाको कप्तान सम्हालिरहेका छन्।

जम्मा छ जिल्ला सहभागी भएको प्रतियोगिताको हेवी वेट टिम सुर्खेतको हो। मुगुसँगको खेलमा सहजै जित हासिल गरेको सुर्खेत जुम्लासँग भने सुरुदेखि नै दबाबमा रह्यो। अन्तिममा बराबरी खेलेको सुर्खेत पेनाल्टी सुट आउटमा पराजित हुन पुग्यो।

मुगुसँग सहजै जित्दा र जुम्लासँग सम्पूर्ण बल लगाएर खेलेर पनि हार्दा दुवै अवस्थामा सुर्खेतको प्रदर्शन हेर्न लायक थियो। सुर्खेतले दर्शकको भरपुर साथ पायो। सबैको मन जित्यो। सिंगो टिममा न विजयको उत्माद देखियो, न हारको विस्मात।

मैदानमा यस्तो कुल टिमको नेतृत्व गरिरहेका थिए, भूपेन्द्र। उनले चौतर्फी प्रशंसा बटुले। उनको व्यक्तिगत स्वभावले धेरैलाई आकर्षित गरायो।

आफूभन्दा कम उमेरका खेलाडीलाई उनको स्वभावले उर्जा दिइरहेको हुन्छ। खेलाडीबाट हुने कमजोरीलाई उनले मैदानमा हुँदा औँल्याउने काम गरेनन्। कहिले रिसाएका देखिएनन्। विपक्षी टिमबाट आक्रमण हुँदा पनि उनी रिसाएनन्।

तर जब उनको खुट्टामा बल पर्थ्यो, तब उनले कुनै कमजोरी गरेनन्। बललाई आफ्नै वरिपरि घुमाउने घमण्ड त झनै गरेनन्। उनको खुट्टाबाट विपक्षी खेलाडीले बल खोस्नु असम्भव प्राय थियो।

असाध्यै राम्रो खेल कौशल देखाइरहेका भूपेन्द्रले जुम्लासँग हार्दा पनि खेलाडी, रेफ्री कसैलाई दोष दिएनन्। आफ्नो टिमका सबै सदस्यले उत्कृष्ट प्रदर्शन गरेको बताए।

'हाम्रा भाइहरूले अत्यन्तै राम्रो खेलेका हुन्। तर जुम्ला जतिको उचाइमा खेल्दा केही समस्या हुने रहेछन्। हाम्रो रफ्तार घट्यो,' उनले भने, 'हार जित प्राविधिक कुरा हो। सँधै जितिन्छ भन्ने हुँदैन। तर हामीले वेष्ट दिने कोसिस गर्‍यौँ। त्यसैमा खुसी छौँ।'

सँधैजसो उत्कृष्ट प्रदर्शन गर्ने उनी फुटबलका पारखी हुन्। फुटबलसँग उनले गाँसेको निकटता अनौठो छ। उनी आफ्नो वरिपरि भइरहेका खेलमा आफू नखेल्ने भए पनि जान्छन्। आफूभन्दा जुनियर खेलाडीको हौसला बढाउँछन्।

'खेल भनेपछि मन हुरुक्कै हुन्छ। जान्नँ भन्दा पनि मनले मान्दैन। खेलले मुटुमा छोएको जस्तो लाग्छ,' उनले भने, 'त्यसैले पनि होला खेलभन्दा पर जीवन छैन जस्तो लाग्छ। एकछिन भएपनि जाउँजस्तो लागिहाल्छ।'

उनको परिवार खेलभन्दा पनि पढाइ राम्रो गरोस् र इन्जिनियर बनोस् भन्ने चाहन्थ्यो। परिवारमा बुबा, आमा, दुईवटा बहिनी र भाइ छन्। उनीहरू सबैको चाहना एउटै थियो। तर उनले आफ्नो लगाव हेरे। एक मनले सोचे बाबाआमाको सपना पूरा गर्नुपर्छ। त्यसपछि उनले नेपालगञ्जमा इन्जिनियरिङको पढाइ पनि सुरु गरेका हुन्।

तर उनको मन त्यहाँ अडेन। फुटबलको भेलले इन्जिनियरिङको लयलाई बगाइदियो। उनले पढाइ छोडे। त्यसपछि घरपरिवारले आफ्ना इच्छा, चाहना त्यागेर उनको सपना साकार बनाउन लागे।

परिवार त्यतिकै उनको सपोर्टमा लागेको होइन। उनी जता खेल्न जान्थे, उतै सबैको ध्यान खिच्ने गरी खेल्थे। दर्शकको प्रशंसा बटुल्थे। त्यो कुरा असाध्यै राम्रो बनेर घरसम्म पुग्थ्यो। छोराले राम्रो गरेको सुनेपछि बाबा आमाको मन पग्लिन्थ्यो। त्यसपछि बाबाआमाले छोराको चाहनामा आफ्नो सपना देख्न थाले। त्यसैले उनी अहिले नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहेका छन्।

'बुबा आमाको साथले नै उर्जा दिइरहेको छ। अब कतिसम्म खेलिन्छ, थाहा छैन', उनले भने, 'घरबाट दशौँ राष्ट्रिय फुटबल प्रतियोगितासम्म खेल भन्नुभएको छ। त्यसपछि अगाडि केही गर्ने कि भन्ने छ।'

हाल उनले आफ्नो व्यवसाय सँगसँगै फुटबल क्लब पनि खोलेका छन्। उनको क्लबको नाम 'रोयल एफसी' हो। जसले सुर्खेत जिल्लामा 'ए' डिभिजन क्लाबको मान्यता पाएको छ। अहिले सुर्खेतको टिममा परेका १० जनाभन्दा बढी खेलाडी उनको क्लबका हुन्।

'मसँग साना बच्चादेखि ठूलासम्म गरी एक सय जना जति खेलाडी छन्,' उनले भने, 'उनीहरूको भविष्य राम्रो बनाउने कोसिस गर्नेछु। उनीहरू भविष्यमा राम्रो खेलाडी बनुन् भन्ने चाहना छ। उनीहरूलाई सकेको सहयोग पनि गर्छु।'

जुम्लासँगको सेमिफाइनल खेलमा पेनाल्टी पर्दा उनले जुनियर खेलाडीलाई अवसर दिए। आफूले पेनाल्टी हानेनन्। मैदानमा फ्रि किकको अवसर आउँदा पनि उनी जुनियर खेलाडीलाई नै अवसर दिन्थे। हाल आएर उनी सुर्खेत मात्रै होइन, सिंगो कर्णालीको लागि उर्जा बनेका छन्।

खेल खेल्दा कयौंपटक घाइते भएका उनी एक महिना अगाडिसम्म अस्वस्थ थिए। एक महिनाअघि चोटमुक्त भएपछि खेल्न थाले। सुर्खेतको टिममा परे। राम्रो खेले। हालसम्म सुर्खेतका लागि खेलेका उनी अब कर्णाली प्रदेशका लागि खेल्ने तयारीमा छन्।

प्रकाशित मिति: : 2024-03-13 19:20:00

प्रतिकृया दिनुहोस्