श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकलाई ठगी गरेको प्रमाण ल्याएमा २४ घण्टाभित्रै कारबाही गरिने बताएका छन्।
शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारबाही गर्ने बताएका हुन्।
त्यस्तै कोरिया रिटर्नीहरुको समस्या सम्बोधनका लागि फास्ट ट्रयाकमा प्रक्रिया अगाडि बढाइने समेत उनले बताए।
‘तपाईंहरुको समस्याको विषयमा सम्बन्धित निकायहरुसँग बसेर छलफल गर्ने छु। आवश्यक परेमा तपाईंहरुलाई नै राखेर छलफल गराउँने छ,’ उनले भने।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरु इपिएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए।
त्यस्तै उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाईल कोरियाको रोजगार दातासम्म पुराउन पर्ने, गत असार १० गते ईपिएस नेपाल रिटर्नीहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते इपिएस नेपाल र रिटर्नीहरुबीच भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने, इपिएस नेपालको ज्यादती र लुटतन्त्रलाई सुधार गराउनुपर्ने माग राखेका थिए।