हुकाममा नि:शुल्क महिला प्रजनन स्वास्थ्य शिविर: पहिलो दिनमै लिए ‍१०६ जनाले सेवा

पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो।

पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना, ओरेक नेपालको साझेदारी र जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वको समन्वयमा संचालन भएको शिविर गाउँपालिका भर ४ दिन सम्म संचालन हुने मिति तय भए बमोजिम वडा नम्बर १ देखी ६ सम्म र ९ नम्बर वडाको महिलाहरुलाई लक्षित गरि हुकाममा शिविर संचालन गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले बताएका छन्। अन्य वडाको लागि ७ र ८ गते प्रथामिक स्वास्थ्य केन्द्र कोलमा शिविर संचालन हुने बताए।

शिविरबाट १०६ जना महिलाहरुले प्रजनन स्वास्थ्य सम्वन्धी सेवा लिएका छन्। स्त्री रोग विशेषज्ञ डाक्टर सिर्जना हमाल, मेडिकल अधिकृत अनिल बुढा मगर खाम,गा. पा. स्वास्थ्य शाखा, हुकाम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले महिलाहरुको प्रजनन स्वास्थ्य चेकजाँच गरेको थियो। चेकजाँचबाट पोरल्याप्स स्टेज फस्ट एण्ड सेकेन्ड १५ जना, स्टेज थर्ड १ जना, स्टेज फोर्थ ३ जना, रिङ प्रेसरी लगाइएको ४ जना, प्रेसन गरिएको ३ जना र तल्लो पेट सम्वन्धी समस्या भएको ८० जनाको चेकजाँच तथा उपचार गरिएको छ।

स्टेज फोर्थमा परेका विरामीहरुलाई गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयले प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी पाएक पर्ने सुविधा सम्पन्न अस्पतालमा शल्यक्रियाको लागि व्यवस्था गर्ने गाउँपालिका स्वास्थ्य सह संयोजक कलिभान विष्टले बताए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष घर्तीले स्वास्थ्य चेकजाँच गर्न आइपुग्नु भएका दिदिवहिनीहरुले आफ्नो समस्याहरु डाक्टर सामु राख्न र आफ्नै गाउँठाउमा आएको यस सुनौलो अवसरलाई भरपुरसाथ उपयोग गर्नुहुन र आज छुट्नु भएका छरछिमेकहरुलाई भोलीको शिविरबाट सेवा लिनको लागि खवर गरिदिनुहुन अनुरोध गरेका थिए।

हुकाम निवासी ८७ वर्षे जेष्ठ नागरिक राजी कामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको संचालन हुकाम स्वास्थ्य चौकी प्रमुख प्रेम प्रकाश के सीले संचालन गरेका थिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, पुथा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत समिर गिरी, जिल्ला खोप फोकल प्रसन मनोज कुमार श्रेष्ठ, स्वास्थ्य सह-संयोजक कलिभान विष्ट, सुचना अधिकारी राम प्रसाद खड्का लगायतको उपस्थित रहेको थियो।

उपाध्यक्षसँग गर्भवती महिला कार्यक्रम अन्तर्गत १००० दिनका आमाहरुका लागि पोषण तथा सरसफाइ किट वितरण

प्रजनन स्वास्थ्य शिविरकै अवसर पारेर पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसँग गर्भवती महिला कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का १००० दिनका आमा तथा गर्भवती महिलाहरुलाई पोषण समाग्री, सरसफाइ किट वितरण तथा गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच समेत गरीएको छ।

उपाध्यक्ष भुपेन्द्र बुढा, प्रवक्ता टिकासाई घर्ती, कार्यपालिका सदस्य ग्वारी बुढा, ६ नं वडा सदस्य तिर्था शाही, ३ नं वडा सदस्य जोखीला बुढा, ५ नं वडा चाम बहादुर कामी लगायतको उपस्थितिमा उक्त समाग्री वितरण गरिएको थियो।

वडा नं ५ का १६ जना गर्भवती महिलाहरुको रक्त परिक्षण, तौल नाप, भिडियो एक्सेर, ल्याव सेवा र स्वास्थ्यकर्मीहरुले गर्भवती महिलाहरुलाई मनोपरामर्श सेवा दिइएको थियो।

गाउँघरमा अझै पनि गर्भवती महिलाहरुमा शिक्षाको कमीले गर्दा जन्मपश्चात शिशुहरुमा विभिन्न प्रकारका रोग तथा अश्वस्त शिशु जन्मिने जस्ता समस्याहरु भोग्नु परेकाले यस प्रकारको कार्यक्रम ल्याइएको बताएका छन्। बच्चा गर्भमा रहदा पोषण र सरसफाइहरुमा ध्यान दिन र नियमित रुपमा स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गरेका थिए

स्वास्थ्य कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ र जिल्ला खोप फोकल प्रश्न मनोज कुमार श्रेष्ठले समयमै आफ्नो गाउँटोलमा रहेका क्लिनिक तथा स्वास्थ्य संस्थाहरुमा पुगेर नियमित रुपमा खोप लगाउनु हुन र आफूले जानेवुझेको स्वास्थ्य शिक्षा अरुलाई सिकाउने र आफुले नजानेको कुरा अन्य जानेको व्यक्तिहरुबाट शिक्षा लिने बानीको विकास गर्न आग्रह गरेका थिए। उक्त कार्यक्रमको अवसर पारेर परिवार नियोजनको विषयमा समेत परामर्श दिइएको छ।

प्रकाशित मिति: : 2024-03-18 21:11:00

प्रतिकृया दिनुहोस्