‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

बिएल संवाददाता

महेन्द्रनगर

गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ।

दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो।

दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभयो। विद्यालय भवन निर्माणका लागि ‘विल्ड अन’मा आवद्ध विभिन्न मुलुकका सहयोगी दाता श्रमदानका लागि दोधारा चाँदनी पुगेका छन्।

‘विदेशी दाताहरुले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गर्नेछन्’, विल्ड अन धनगढीका सहायक निर्देशक झरना बमले भने। उनका अनुसार संस्थाले कैलाली, कञ्चनपुरका साथै बाँके र बर्दियामा आर्थिक अवस्था कमजोर भएका, भवन अभावको समस्या भोगिरहेका विद्यालय छनोट गरी भवन बनाउन सहयोग गर्दै आएको छ।

‘दोधारा चाँदनी नगरपालिकासँगको संयुक्त साझेदारीमा बन्ने विद्यालय भवनको निर्माण अवभि एक सय ६ दिन रहेको छ’, बमले भने– ‘दाताहरुका साथै स्थानीयको पनि श्रमदान रहनेछ।’

भवन निर्माणका लागि अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकका १९ जना यहाँ आएका छन्। स्थानीय तहले निर्माण सामग्री उपलब्ध गराउने गरी सहकार्य गरेको छ। भवन निर्मण सम्पन्न भएपछि संस्थाले फर्निचरलगायत सामग्री उपलब्ध गराउने छ।

प्रकाशित मिति: : 2024-03-19 20:33:00

प्रतिकृया दिनुहोस्