बारामा नेता बढी भए, विकास कम भयो: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बारामा नेता बढी र विकास कम भएको बताएका छन्। उच्चपदमा बाराका नेता पुगे पनि जिल्लाको विकासमा ध्यान नदिएको उनले बताए। 

आजपाको बारा–काठमाडौँ आम सम्पर्क मञ्चको शान्तिनगरमा बिहीबार आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऐतिहासिक जिल्ला बाराको विकासका लागि त्यहाँका नेताले ध्यान दिनुपर्ने बताए।

‘तिरहुत राज्यको राजधानी सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई, कलैयाको धार्मिक स्थलहरुको जुन रुपमा विकास हुनुपर्ने हो त्यो हुन सकेन’, अध्यक्ष साहले भने, ‘काठमाडौँ–तराई मधेस फास्ट ट्र्रयाक, बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिन सकिरहेको छैन। यी र यस्ता विकासका योजनाहरु समयमै पूरा गर्न र विकासका लागि बाराली नेताहरु एकजुट भएर लाग्नुपर्ने भए पनि त्यसो हुन नसक्नु दुखद् छ।’

बाराबाटै उपराष्ट्रपति, उपप्रधानमन्त्री, मधेसको मुख्यमन्त्री, संघीय सरकारमा मन्त्री, सांसद लगायतका उच्चपदमा नेताहरु पुगेका छन्। बाराको शिक्षा, स्वास्थय, यातायात, उद्योग, ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, धार्मिक स्थललगायतको क्षेत्रको विकासले गति किन लिइरहेको छैन भन्दै साहले प्रश्न गरे। जिल्लाको विकासका लागि बाराली जनता ढिला नगरी आजपामा गोलबन्द हुनुको विकल्प नभएको उनले जिकिर गरे।

पूर्वपश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग लगायतका राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्नुपर्ने र त्यसका लागि बाराली जनताले दबाब सृजना गर्नुपर्ने आवश्यक भएको उनले बताए।

बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराली जनताहरु संघर्षमा उत्रिनुपर्ने बताउँदै उनले हुलाकी राजमार्गलाई चारलेनको बनाउँन दबाब दिनुपर्ने आवश्यक रहेको बताए। यी आयोजनाहरु सम्पन्न भए बाराको विकास अगाडि बढने उनले बताए। 

देशमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा आजपाद्वारा चैत २४ गते काठमाडौँमा हुने जनप्रदर्शनमा सहभागी हुन अपिल गर्दै उनले दलीय भ्रष्टाचारको विरुद्धमा उत्रिन आग्रह गरे।

देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए।  

आजपा नेता रामाशंकर साहको अध्यक्षतामा सम्पन्न  बारा–काठमाण्डौँ आम सम्पर्क मञ्चको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एंव संबिधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष रिता साह, महासचिव अमर साह, उपमहासचिव चन्द्रभुषण साह, सचिवद्वय उमेश कुशवाहा, बाबुराम कौशिक, मौलापुर नगरपालिकाका मेयर रिना साह, उधोगी इच्छाबहादुर वाग्लेलगायतको सहभगिता रहेको स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए।

प्रकाशित मिति: : 2024-03-21 16:05:00

प्रतिकृया दिनुहोस्