चिसापानी पुलबाट कर्णाली नदीमा हाम फालेका शाहीको शव भेटियो

चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए। उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा पानीमा तैरिएको अवस्थामा भेटिएको हो।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो। उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए। हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए। पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीअनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए। प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले बताएकाे छ।

प्रकाशित मिति: : 2024-03-28 17:05:00

प्रतिकृया दिनुहोस्