जनआन्दोलन दिवसमा आजपाले काठमाडौँमा जनप्रदर्शन गर्ने

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्न लागेको जानकारी गराएको हो।

उक्त जनप्रदर्शनलाई आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने जनाइएको छ।

आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्रको प्रत्याभूति हरेक जनताले गर्न सकोस् भन्ने ध्येयका साथ जनआन्दोलन दिवसका दिन विशाल जनप्रदर्शन गर्न लागिएको स्पष्ट पारेका छन्।

अहिले देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो?’ भन्ने कुरामा विरोधाभाष बाँकी नै रहेको उनको टिप्पणी छ।

आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगरले देश लुट र भ्रष्टले तहसनहस पारेको बताए। अहिलेसम्म ठूला दलका नेताबाट बाँडीखाने भन्दा अरु काम हुन नसकेको उनको आरोप छ।

अहिले आम जनताहरु निराश भएका र जनताको निराशामा निकास र बदलावका लागि आफूहरु लागिरहेको उनले बताए।

२०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धि संस्थागत हुन नसकेको उनको भनाइ छ। २०७२ सालमा संविधानसभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए।

संविधानमा सबै चिज भएपनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ। संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे।

नेताहरुले नेपाली जनतालाई ढाँट्ने र ठग्ने काम गरेको दाबी गर्दै उनले आफूहरु सार्थक आन्दोलनको उद्घोषको तयारीमा रहेको बताए।

उनले नेपाली जनताको पक्षमा परिणाम आउने गरी चैत २४ गतेबाट आन्दोलनको उद्घोष गर्ने तयारी गरेको बताए। चैत २४ गते हुने जनप्रर्दशन आजपाको मात्रै नभएर किसान, मजदुर र पीडितहरुको आन्दोलन रहेको उनको दाबी छ।

आजपाका उपाध्यक्ष अरुण घिसिङले बेथिति, भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको विरुद्ध वृहत जनप्रदर्शन आह्वान गरिएको बताए।

‘जनआन्दोलन दिवसको सन्दर्भ पारेर यही चैत २४ गतेको दिन बेथिति, भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको विरुद्ध वृहत जनप्रदर्शनसहितको ताम्सालिङ– नेवा प्रदेश भेलालाई सार्थक रुपमा सफल बनाउन आह्वान गरिन्छ,’ ताम्सालिङ– नेवा प्रदेश (बागमती) का इन्चार्जसमेत रहेका घिसिङले भने।

आजपाका उपमहासचिव ज्ञानेन्द्र तामाङले चैत २४ गतेको जनप्रदर्शन विशिष्ट प्रकृतिको हुने बताए। उनले आफूहरु नेपाली जनतालाई अधिकारलाई स्थापित गर्नका निमित्त अगाडि बढेको बताए।

नेपालमा रहेका विभिन्न जातजातिहरुको विशेष अधिकार स्थापित गर्न आजपा अग्रसर रहेको उनले भनाइ छ। विभिन्न जातजाति र भाषा भाषीको पहिचान बुलन्द गराउन आजपा अगाडि बढिरहेको उनले बताए।

आजपाकी सचिव देवी पण्डितले देशमा भ्रष्टाचार बढिरहेको र लुटतन्त्र मच्चिरहेको बताइन्। उनले शान्तिको देश भनेर विश्वले चिन्नेको नेपाल सत्तासिन नेताको कारण बदनाम भएको बताइन्। आम जनता पार्टीले पीडित जनताको आवाज बुलन्द गराउन जनप्रदर्शन गर्न लागेको उनले बताइन्।

कार्यक्रममा आजपा स्थायी समिति सदस्य तथा पार्टीको उद्योग विभाग प्रमुख सागर पाण्डे, आम आदिवासी जनताजाति मोर्चाका अध्यक्ष पासङ लामा, आइटी आर्मीका सचिव प्रसान्त तिमल्सिना, तामाङ मुक्ति मोर्चाका अध्यक्ष विकेश तामाङ, आम ट्रेड युनियन फेडेरेसनका महासचिव तेजनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2024-03-28 17:57:00

प्रतिकृया दिनुहोस्