कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएकाे छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो।

गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म गुरुङलाई गत वर्ष पुस १२ गते संसद् सचिवालयले निलम्बन गरेको थियो।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ।

गुरुङले आफुलाई सजाय नभएको र जरिवाना मात्र भएको भन्दै निलम्बित सांसद पद फुकुवा गर्न रिट दायर गरेका थिए।

प्रकाशित मिति: : 2024-03-29 17:23:00

प्रतिकृया दिनुहोस्