सरकारद्वारा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले वैशाख २८ गते शुक्रबारका दिन अपराह्न २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताइन्।

त्यसैगरी जापानी परराष्ट्रमन्त्री कामिकावा योकोको आइतबार हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचीसमेत स्वीकृत गरेको छ।

प्रकाशित मिति: : 2024-05-02 19:30:00

प्रतिकृया दिनुहोस्