आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालय अगाडि निरन्तर नारा-जुलुस गरेकाे छ।
सरकार र विभागको विरुद्धमा नाराजुलुस गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको आईटी आर्मीकाे आराेप छ।
वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आईटी आर्मीले आज आठौँ दिन पनि नारा-जुलुससहित धर्ना एवं घेराउ गरेकाे हाे।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले आज हातमा कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिइएको बताए।
चर्कोगर्मीका बीचमा विगत आठ दिनदेखी वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भइरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेकोमा उनले आपत्ति जनाए।
‘वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुको माग सम्बोधनका निमित आफूहरुले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ। तर हामी थाकेका छैनौँ, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, साहले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई ध्यानाकर्षण गराईसकेका छौँ तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ।’
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो। आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए। यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भईरहेकाले सर्वसधारण पीडित बनेको बताइन्।
‘लाखौं लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ। ५-१० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ। विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ। असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ यादवले भनिन्।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको आईटी आर्मीले जनाएको छ।
युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि यादवले बताइन्। नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ।
नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए। यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आईटी आर्मीको माग छ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ। ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’, उनले भने।
असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे। यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको आईटी आर्मीले जनाएको छ। अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनीहरुले जनाएका छन्।
बेरोजगारको खुलेआम व्यापार भइरहेको र ठगहरुसामु वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विश्वास छ।