आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले रौतहटमा जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ।
मोर्चाले रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिइरहेको छ। मोर्चाका अध्यक्ष एवं जनता आवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ।
संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना जारी राखेपछि सरोकारवालाबीच आज वार्तासमेत भइरहेको छ।
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भइरहेको छ।
मधेस प्रदेशका सांसदसमेत रहेका जनता आवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भइसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमत छन्। पटेलसहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन्।
‘यसअघिको मधेस सरकारले जनताको आवाज नसुनेको र गरिब दलितको निर्माण भइसकेको घरको भुक्तानी गरेन। कतिपय घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोड्यो। हामीले निर्माण भइसकेका घरहरुको भुक्तानी हुनुपर्ने र अधुरो छोडिएका घरको निर्माण यथाशिघ्र सुरु गर्नुपर्ने माग गरेका छौँ’, साहले भने।
रौतहटको बगही, पतौरा, मौलापुर, मर्यादपुर, पथरा, बुधरामपुरलगायतका गाउँमा जनता आवास कार्यक्रम अन्तरगत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको छ। यस्तै कतिपय ठाउँमा अधुरो अवस्थामै घर निर्माणको काम छोडिएकाले त्यसलाई पूरा गर्नुपर्ने संघर्ष समितिका संयोजक दासले जनाएका छन्।
यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्नेलगायतका माग समितिले गरेको छ। तर सम्बन्धित निकायले चासो नदिएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको हो।