संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताए।
‘आज जतिपनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले, कानुन निर्माण गरेर, प्रस्तावित संरचना बनाएर समाधान गरिएन भने सिंगो आर्थिक प्रणालीमा यसको दुस्प्रभाव पर्छ। बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्या हो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुनसक्छ’, उनले भने।
उनले नियमनप्रति बेखबर हुनु र कानुनअनुसारका संरचना नबन्नु उचित नभएको भन्दै सहकारीहरु बढे अनुसार संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको बताए।
उनले भने, ‘नियमनप्रति बेखबर हुनु र कानुन अनुसारका संरचना नबनाउने कामहरु उचित भएनन्। अहिले सहकारीहरु बढि रहेको अवस्थामा त्यस अनुसारका संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको हो। सहकारीमा समस्या आउनुको कारण सहकारीको सिद्धान्तविपरीत सहकारीहरु दर्ता गर्ने कामले गर्दा पनि भएको हो। सहकारीको संख्या धेरै भयो तर त्यसलाई नियमन गर्ने कानुन त्यही अनुसार भएन।’