आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एकजना किशोरको हत्या गरिएको छ।

जिल्लाको दक्षिणीभेग भारतीय सीमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ।

घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका- १ बौधापतौरा गाउँ घर भई हाल इशनाथ- ३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो। आरोपी दुवै जना मिलेर इशनाथ– ९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

डिएसपी गिरीकाअनुसार मंगलबार राति शाैच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैंचामा दशईले पछाडिबाट अनुहार-टाउकोमा रड प्रहार गरेको र उनी भुइँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको एकदिनअघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई दुई-चार थप्पड हानेका थिए।

सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।

आरोपी दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- सञ्जय मिश्रा

प्रकाशित मिति: : 2024-07-11 08:55:00

प्रतिकृया दिनुहोस्