विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कार गर्ने भन्दै विदेशमा पसिना बगाइरहेका नेपालीहरूको पैसा उठाएर आफ्नै खल्ती भरेका अमेरिकाका नेपाली ‘ठग’हरू फेरि सल्बलाएका छन्।
सूचना प्रविधिमा फरक र अलग पहिचान बनाउन आफूहरूले छुट्टै एप निर्माण गर्न लागेको गफ दिएर उनीहरूले नेपालीबाट लाखाैँ डलर उठाएका थिए।
यस ठगी धन्दाका मुख्य पात्र हुन्, अमेरिकामा बस्दै आएका गोविन्द गिरी र कविन्द्र सिटौला। गिरी संस्थापक हुन्। सगुनले मार्क जुकरबर्गको फेसबुक (मेटा)लाई टक्कर दिने दाबी त्यत्तिबेला गिरी र सिटौलाले गरेका थिए।
सन् २०१५ मा अफीसीयल रुपमा प्रारम्भ भएको दाबी गरिएको यो कम्पनीको भारत, नेपाल र अमेरिकामा कार्यालयहरु भएको बताइन्छ। तर, एक दशकसम्म पनि यो कम्पनीको प्रगति शून्य छ।
उनीहरूले सगुनको सञ्जाल चलाउने प्रयोगकर्ताले सुनका सिक्का र डलर पाउने समेत प्रलोभन देखाएका थिए। तर, उनीहरूको यो भनाइ गफमै सीमित भयो।
त्यसपछि उनीहरूले पैसा बटुल्ने अर्काे जुक्ति निकाले। सन् २०१७ मा मोबाइल एपबाट बिजुली उत्पादन गर्ने योजना रहेको भम्र छरे। असम्भव कुरा गरेर दोस्रो पटक पैसा उठाए।
‘सगुनले छिट्टै सार्वजनिक गर्ने मोबाइल एपले विद्युतीय ऊर्जा उत्पादन गर्ने छ। मोबाइल फोनलाई एकपटक चार्ज गरेपछि फेरि कहिल्यै चार्ज गर्नुपर्ने छैन,’ संस्थापक गिरीले त्योबेला भनेका थिए।
आखिर के हो सगुन?
सन् २०१५ मा गिरी र सिटौलाको डिजाइनमा अमेरिकाको भर्जिनियामा सगुन इन्क कम्पनी खडा गरिएकाे थियाे। प्राविधिक र व्यावहारिक रूपले असम्भव सपना बाँडेर विदेशमा बस्ने नेपालीहरूबाट गिरी र सिटौलाले करोडौं लगानी उठाए।
उनीहरूले सगुन नामको एउटा सामान्य एप बनाएर पैसा उठाएका थिए।
विश्वमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई उत्पादनशील बनाउने अवधारणा बमोजिम आइटीको नयाँ आयाम आर्टिफीसीयल इन्टिलीजेन्ट, मशिन लर्निङ सीस्टम तथा सोसीयल स्मार्ट कार्डजस्ता नयाँ प्रविधिको विकास भइसकेको भम्र फैलाएर उनीहरूले शेयरमार्फत पैसा उठाएका थिए।
अमेरिकामा एउटा सामान्य कम्पनी खडा गरेकै भरमा गैरआवासीय नेपाली, व्यापारीदेखि खाडीमा सामान्य मजदुरी गर्ने श्रमिकलाई ठगेका थिए। झण्डै ५ हजार नेपालीबाट पैसा उठाउन सफल भएका थिए।
एक भारतीय चर्चित नायिकालाई कम्पनीको सद्भावना दूत बनाएर उनीहरूले नेपालीको आँखामा छारो हाल्दै पैसा उठाएका थिए। त्यत्तिबेला गिरी र सिटौलाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेटर्वक दुरुपयोग गरेका थिए।
यतिमात्र होइन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपालका अन्य राजनीतिक दलका नेताहरूलाई पनि उनीहरूले प्रभावमा पार्न सफल भएका थिए। विदेशमा बस्ने नेपालीले ठूलै चमत्कार गर्न लागेको विश्वासमा परेर प्रधानमन्त्री पनि सगुनले काठमाडौँमा गरेको कार्यक्रममा सहभागी भएका थिए। सन् २०१८ देखि नै यो कम्पनी टाँट पल्टिसकेको छ।
अमेरिकामा बस्ने नेपालीले गिरी र सिटौला ठग्नमा माहिर भएको बताउँछन्। ‘एक नम्बर ठग हुन्। चिल्ला कुरा गरेर नहुने नहुने सपना देखाउँछन्। यस्तो एप त दुई हजार डलरमा बन्छ। सबै हावा हो,’ अमेरिकामा प्रविधि व्यवसाय गर्दै एक नेपालीले भने।
उनीहरूको यो ठग्ने उद्धेश्यबाहेक अरु केही नभएको यसमा पहिला लगानी गरेकाहरूले नै बताउँछन्।
‘यसमा लगानी गरेकाहरूले दुई वर्षमै डबल पाइन्छ भनिएको थियो। मैले पनि ५ हजार डलर हालेको थिएँ। ७ वर्ष भयो। सबै गफ रहेछ। ठगहरू रहेछन्। अब कोही पनि भम्रमा नपर्नुहोला,’ यूएईबाट लगानी गरेका एक व्यक्तिले पीडा सुनाए।
फेरि पैसा उठाउन सक्रिय
यिनै संस्थापक गिरी यतिबेला फेरि खाडिमुलुक र मलेसियामा गफ दिएर पैसा उठाउन हिँडेका छन्। उनीहरूले खाडी तथा मलेसियाका नेपालीलाई लक्षित गरेर फेरि अर्के प्रोडक्ट ल्याउन लागेको भन्दै भम्र छरेका छन्।
कतारमा उनले कम्पनी राम्रो हुँदै गएकाले प्रतिफल आउन धैरै समय नलाग्ने भन्दै गफ दिएका थिए। कतारका नेपालीहरूलाई भेला पारेर कम्पनीलाई योबेला थप पैसाको खाँचो रहेकाले लगानी गर्न आग्रह गरेका थिए।
कतारमा आयोजित कार्यक्रममा गिरीले कम्पनी अब गिफ्ट बजारमा केन्द्रित हुने भन्दै नेपालमा अब गिफ्टको बजार १ अर्ब अमेरिकी डलर पुग्ने र भारतको ३० अर्बको र विश्व बजारमा ४ सय अर्बको भएको भन्दै गिफ्टमा कम्पनी केन्द्रित हुने बताउँदै लगानी गर्न आग्रह गरेका थिए।
दोहाका नेपालीलाई महँगो होटलमा डिनर लागि बोलाएर उनले पैसा उठाउने प्रपञ्च रचेका हुन्। तर, उनीहरूले आशा गरेअनुसार केही उपलब्धी हासिल गर्न नसकेको डिनरमा सहभागी एक नेपालीले बताए।
‘उनीहरूको भात खाइयो। पहिला नै धेरलै पैसा डुबाएका छन्। अब लगानी गर्ने त कुरै भएन,’ उनले भने।
कार्यक्रममा गिरीले भारतमा सादी डटकमसँग र राजकपुरसँग सम्झौता भएको बताउँदै सगुन गिफ्ट बजारमा केन्द्रीत हुने जानकारी गराएका थिए।
सगुनले विगतमा पनि हिन्दुस्तान टाइम्सले सेयर किनेको भन्दै भम्र छरेको थियो।
दोहामा कार्यक्रम गर्न एनआरएनए कतारका उपाध्यक्ष कृष्ण पन्थीले भूमिका खेलेका थिए। ‘गोविन्द गिरी जस्तो ठगलाई एनआरएनएका प्रतिनिधिले नै सहयोग गर्दै आएका छन्। उनीहरूको भूमिका पनि शंकास्पद देखिन्छ,’ दोहाका एक नेपालीले भने।
गिरीको टोली यसअघि मलेसिया पुगेको थियो। कतारपछि अब दुबईमा कार्यक्रम गर्ने उनीहरूको तालिका छ।