मधेस प्रदेशः आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

फाइल तस्बिर
फाइल तस्बिर

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो।

यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रू ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए।

बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ।

बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो।

आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि  बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ। छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। 

प्रकाशित मिति: : 2024-07-14 22:09:00

प्रतिकृया दिनुहोस्